विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको निर्णयलाई पछ्याउँदै बन्द गर्ने निर्णय गरेका छन् ।
वर्षेनी यार्सागुम्बा सङ्कलन गरेर आम्दानी गर्ने सर्वसाधारणको कमाइ योपटक समस्यमा परे पनि प्रकृतिकरूपमा भने यसले फाइदा गरेको जानकारहरु बताउँछन् । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्बा (जीवन बुटी) लोप हुँदै गएको विगत १० वर्षको तथ्याङ्कबाट समेत आँकलन गर्न सकिन्छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अवैधरूपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको छ । योपटक कोरोना भाइरसको त्रासका कारण हिमाली जिल्ला डोल्पा, मुगुमासमेत यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । बाँच्न र बचाउनका लागि यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि यहाँका हिमाली पाटनमा हुर्किँदै गरेका यार्सागुम्बा र जडीबुटीलाई भने संरक्षणका लागि प्रकृतिले नै मौका दिएको छ । स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या पर्दै आएको छ ।
हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको थियो । उनीहरुको मुख्य आम्दानीको स्रोत नै यार्सा र जडीबुटी हो । यार्सा उत्पादन पहिलेभन्दा आधा घटेको अनुभव रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका छत्र खड्काले बताउनुभयो । डोल्पाका पत्रकार विष्णुलाल बुढा भन्नुहुन्छ, “संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार मात्र होइन यार्सागुम्बा संरक्षणका लागि यहाँ विशेष अभियान चलाउनुपर्ने हुन्छ । त्यो भएको छैन ।”
नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा यार्सागुम्बा बढी पाइन्छ । तीमध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा बिक्ने गरेको छ । एक तथ्याङ्कले यार्साजस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ । शक्तिवद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ ।
यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुनसकेको छैन । पहिले पाटनहरुमा सीमित मान्छेहरु टिप्न आउने, प्रकृतिमा समेत खासै समस्या पदैनथ्यो । पछिल्लो समय पाटन क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ । यार्सा चार हजार ५०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा यार्सा पाइन्छ ।
अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ तर डोल्पामा जुनसुकै जिल्लाबाट आएकाहरुले समेत यार्सा सङ्कलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरवाही भएको अनुमान सङ्कलनकर्ताको छ । डिभिजन कार्यालय डोल्पाका प्रमुख जीतेन्द्र महतका अनुसार कुन यार्सा टिप्न हुने र कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सासमेत निकासी हुने गर्छ । यसैले यार्सा घट्दो अवस्थामा छ । यार्सागुम्बा सङ्कलन तथा बिक्री वितरणसम्बन्धी कायविधि, २०७३ स्वीकृत भई कार्यान्वयनमा आएको भए पनि डोल्पामा यसको जानकारी छैन ।
के हो यार्सागुम्बा ?
यार्सागुम्बु हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी हो । विश्वमा हालसम्म ‘कोर्डिसेप्स’ वर्गमा पर्ने ढुसीहरू ‘स्याक फङ्गस’ का ६८० भन्दा बढी प्रजातिहरू पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बालाई अङ्ग्रेजीमा ‘क्याटरपिलर फङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कोर्डिसेप्स सिनेस्सीस’ हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइन्छ ।
यार्सागुम्बु शब्द तिब्बती भाषाको यार्साकुन्भु शब्दबाट अपभ्रंश भएर व्युत्पन्न भएको शब्द हो । जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भु’ को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । एक वर्षमा छ महिना कीरा र छ महिना बुटिका रूपमा जीवित रहनु यार्सागुम्बको एउटा विशिष्ट विशेषता हो ।
यसलाई नेपालका विभिन्न भूभागमा फरक–फरक नामले चिनिन्छ । स्थानीय विशेषताअनुसार यसलाई यार्सागुम्बा, यार्चागुन्बु, यार्सागुम्बु, जीवनबुटी, किरा, च्याउ, झार, अर्मोजस्ता विभिन्न नामले चिनिन्छ । स्थानीय भाषामा प्रयोग हुने जीवनबुटी शब्दले पनि जीव र बुटी दुवै अस्तित्वमा रहने भन्ने बुझिन्छ । यार्सागुम्बु विभिन्न आकार र रङहरूमा पाइन्छ । सफा गरेर सुकाइएको, सुन रङको, ठूलो, कडा खालको, धेरै तौल हुने यार्सागुम्बालाई उच्च गुणस्तरको र नसुकेको, भाँच्चिएको, कालो रङ, नरम, कम तौल र सफा नगरिएको यार्सागुम्बालाई कम गुणस्तरको मानिन्छ ।
तिब्बती पठार र हिमालय हिमशङ्खलाको दक्षिणी क्षेत्रका केही निश्चित भूभागमा पाइने यार्सागुम्ब नेपाल, चीन, भारत र भुटानका उच्च हिमाली भेगमा मात्र पाइन्छ । यो जडीबुटी नेपालका विशेषगरी दार्चुला, बझाङ, बाजुरा, डोटी, जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, रसुवा, रूकुम, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा पाइन्छ । तर, सबैभन्दा धेरै र गुणस्तरीय यार्सागुम्बा डोल्पा र रूकुमको सीमा क्षेत्रको बुकीपाटनमा पाइन्छ ।