कबिताको शीर्षक : जिन्दगी
घाम झैँ जिन्दगी झुल्किने गर्दछ,
फूल झैँ जिन्दगी वैलिने गर्दछ!!
उठ्दछन् स्वप्न ती चल्छ आँधी हुरी
प्राप्तिका लागि नै बस्नुपर्ने कुरी।।
वेदनाको दियो बल्न थालेपछि
लोभले चित्त यो जल्न थालेपछि
आश नै आशामा बाँच्नुपर्ने भयो
चोट नै चोट होस् हाँस्नुपर्ने भयो।।
भन्छ कस्ले यहाँ मेटियो जिन्दगी
रेटिँदा रेटिँदै भेटियो जिन्दगी
मात्र सङ्घर्षमा फक्रिने गर्दछ
होस् न एक्लै अहो!यो नदी तर्दछ।।
जन्म वा मृत्युको यो अनौठो क्रम
भाग्यलाई बदल्ने यही हो श्रम
पौरखी हातले फेरिने आकृति
छन् अनेकौँ यहाँ जिन्दगीका कृति ।।
ब्युँझियोस् चेतना मर्न थालेपछि
फक्रियोस् भावना झर्न थालेपछि
त्यागले जिन्दगी हुन्छ जीवन्त नै
खोज्नुपर्ने कुरा के छ खै!अन्त मै।।
साहित्यकार / कवि : भवानी न्यौपाने " भवानी"