लकडाउनका कारण घर जान नपाएर जिल्लाका ६२ वटा इँटाभट्टामा काम गर्ने भारतीय मजदूर इँटाभट्टामै अड्किएका छन् । उनीहरुलाई भक्तपुर इँटाभट्टा व्यवसायी सङ्घले राहत भत्ता वितरण गरेको छ ।
सङ्घको आज बसेको बैठकले बन्दाबन्दी खुलेर भारतको सीमा नखुलेसम्म इँटाभट्टामा कार्यरत भारतीय मजदूरलाई साप्ताहिक राहत भत्ताको व्यवस्था गरी राख्ने निर्णय गरेको सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो ।
यहाँका इँटाभट्टामा करिब तीन हजार भारतीय मजदूर कार्यरत रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “इँटाभट्टा बन्द भइसक्यो, बन्दाबन्दी र सीमा बन्दका कारण घर जान नपाएर रोकिएका तीन हजार भारतीय मजदूरलाई घर फर्कने व्यवस्था नभएसम्म खानका लागि हप्तामा प्रतिव्यक्ति ६०० का दरले राहतभत्ता रकम दिने भएका छौँ, साथै जुन भट्टामा काम गर्ने हो, त्यही भट्टाले बस्ने, खानेपानी, विद्युत र ग्यासको व्यवस्था गर्ने निर्णय गरी यसलाई आजैबाट कार्यान्वयनमा ल्याएका छौँ ।”
भारतीय मजदूर विशेष गरी भट्टामा इँटा पोल्ने, पोलिसकेका बजारमा पठाउनका लागि इँटाभट्टाबाट बाहिर निकाल्न बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन् । इँटाभट्टामा थोरै भारतीयका साथै धेरै नेपाली मजदूर पनि कार्यरत छन् । इँटा पार्न, इँटा बोक्नेलगायतका काममा नेपाली मजदूर कार्यरत आ–आफ्नो गाउँठाउँं फर्किसकेका अध्यक्ष ह्योम्बाले जानकारी दिनुभयो ।
भारतीय मजदूर सिजनभरि इँटाभट्टामै अस्थायी टहरा बनाई बस्छन्् । उनीहरुलाई खानेलाउनेबाहेकको बिजुली, खानेपानीलगायतका सम्पूर्ण आधारभूत सुविधा सम्बन्धित इँटा उद्योगीले नै गरिदिने व्यवस्था गरेको छ । यसवर्ष गत चैत २० गतेदेखि नै जिल्लाका सम्पूर्ण इँटाभट्टामा इँटा पार्ने काम बन्द गरेपछि इँटा पार्ने र इँटा बोक्ने करिब २२ हजार मजदूर घर पठाइसकेको अध्यक्ष ह्योम्बाले जानकारी दिनुभयो ।