कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनका कारण मकवानपुर जिल्लाका माछा व्यवसायी सङ्कटमा परेका छन् । मासिक करिब रु ९० लाख बराबरको माछा बिक्री वितरण हुँदै आएकोमा अहिले एक महिनाको अवधिमा रु पाँच लाखको पनि बिक्री हुन नसकेको व्यवसायीको गुनासो छ । व्यवसायी राजु साहले हेटौडा लगायत जिल्लाको विभिन्न स्थानमा थोक तथा खुद्रा गरी करिब तीन दर्जन माछा पसल रहेको जानकारी दिनुभयो ।
रौतहटको चन्द्रनिगाहपुर घर भएका उहाँ हेटौँडा–१० बसपार्कमा एकीकृत माछा बजारमा रहेको न्यू मदन माछा पसलका थोक बिक्रेता समेत हुन् । सो बजारमा १३ वटा थोक तथा खुद्रा पसल रहेका छन् । प्रत्येक दिन ५० देखि ८० केजीसम्म व्यवसायीले माछा बिक्री गर्ने गरेका थिए । तर अहिले लकडाउनका कारण १० केजी पनि माछा बिक्री हुन नसकेको अर्का व्यवसायी छेदी साहले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकको सरकारी जग्गामा रहेको एकीकृत माछा बजारका व्यवसायीलाई घरभाडा तिर्नसमेत समस्या रहेको उहाँ गुनासो छ ।
उहाँले भन्नुभयो,“सरकारले घरभाडा नलिन घोषण गरेको तर उपमहानगरले अहिलेसम्म केही भनेको छैन । ” उहाँले भन्नुभयो । जिल्लामा ६० प्रतिशत माछा भारतबाट आउँछ । ती माछा नेपालको भन्दा सस्तो हुन्छ । होटेल, पार्टीप्यालेस तथा रेस्टुरेन्टमा माछाको माग अत्यधिक हुन्छ । तर लकडाउनले भारतबाट माछा आउन नसकेको माछा मासु व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अनुसार ४० प्रतिशत माछा बारा र पर्साको जितपुर, मधुवन, बगवाना तथा सिमरौनगढबाट विभिन्न किसानको पोखरीका माछा हेटौँडा बजारमा ल्याएर बिक्री हुने गरेकोे छ ।
त्यसैगरी जिल्लामा रहेको हेटौँडा रिसोर्ट, थानाभज्याङ र नवलपुरको पोखरीबाट साप्ताहिकरुपमा माछा बिक्रीका लागि आउने गरेको बताइन्छ । हेटौँडामा रहेको मत्स्य विकास केन्द्रले पनि माछा बिक्री वितरण बन्द गरेको छ ।
माछा व्यवसायी राजु साहले लकडाउनका कारण प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म मात्र पसल खोल्ने र उपभोक्तालाई पसलसम्म आउन समस्या भएकाले पनि माछा व्यवसायी अहिले घाटामा गइरहेको बताउनुभयो । माछा बारा र पर्सा जिल्लामा पाइन्छ तर त्यसका लागि स्थानीय प्रशासनको पास लिएर जानुपर्छ । बिक्री वितरण छैन त्यसैले त्यहाँबाट बिक्रीका लागि नल्याएको उहाँको भनाइ छ ।
सानो माछा राप्ती र करा खोलाका स्थानीयवासीले समातेर बजारमा केही स्थानमा थोरै मात्रामा बिक्री वितरण गरेको पाइएको छ ।
अहिले माछाको मूल्य पनि वृद्धि भएको छ । रु ३०० मा प्रतिकेजी बिक्री हुने माछा अहिले रु ५०० मूल्यमा बिक्री भइरहेको छ । बजारमा राहु, नैनी, भाकुरा, कमलकाट, ग्रासक, बिगेटलगायतका माछा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्रले अहिले माछाको बिक्री घटेको जनाएको छ ।