नेपाली काङ्ग्रेस तनहुँ व्यास नगर समितिले कोभिड–१९ को जोखिम न्यूनीकरणमा सघाउन व्यास नगरपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको छ । काँग्रेस नगर समितिले १४ वटै वडाका क्रियाशील सदस्य, शुभेच्छुक, व्यक्ति, सङ्घसंस्थाबाट सङ्कलन गरेको उक्त रकम आज नगर सभापति शान्तिरमण वाग्लेले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
विपद्को अवस्थामा नेपाली काँग्रेस जनताको साथमा छ भन्ने सन्देश दिनका लागि रकम सङ्कलन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको वाग्लेले बताउनुभयो ।
काँग्रेस तनहुँको निर्देशनबमोजिम जिल्लाका १० वटै स्थानीय तहमा रकम सङ्कलन अभियान सञ्चालन गरिएको र सङ्कलित रकम सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिने वाग्लेले जानकारी दिनुभयो । “नेपाली काँग्रेस सुखदुःखमा सधैँ जनताको साथमा छ, स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग होस्”, वाग्लेले भन्नुभयो ।
काँग्रेसले ठूलो धनराशी नगरपालिकाको राहत कोषका लागि सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “यो सहयोगले अन्य राजनीतिक दल, सङ्घसंस्थालाई पनि प्रेरणा दिएको छ ।” प्राप्त सहयोग रकम नगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा गरिने र एकद्वार प्रणालीबाट नै रकम खर्च गरिने न्यौपानेले जानकारी दिनुभयो ।
बन्दाबन्दीबाट प्रभावित नगर क्षेत्रभित्रका विपन्न तथा असहाय परिवारलाई रु ५० लाख बराबरको राहत वितरण गरिसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
“बन्दाबन्दी लम्बिँदै जाँदा प्रभावितको सङ्ख्या बढ्न सक्ने भएकाले आगामी दिनमा पनि त्यस्ता व्यक्तिलाई पनि सम्बोधन गरिनेछ”, न्यौपानेले भन्नुभयो । नेपाली काङ्ग्रेस तनहुँका सहसचिव एवं प्रवक्ता डम्बरबहादुर अधिकारीका अनुसार नगरका १४ वडा समिति, क्रियाशील सदस्य, सर्वसाधारणबाट पहिलो चरणमा सङ्कलन भएको रकम नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पार्टीले सञ्चालन गरेको उक्त अभियानमा व्यक्तिगतरूपमा सबैभन्दा बढी रु ११ हजारसम्म सहयोग प्राप्त भएको थियो ।