कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा रहेका सात वटा सहकारी संस्थाले कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा रु तीन लाख २३ हजार २४७ आर्थिक सहयोग गरेका छन् ।
कोषमा मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाले रु एक लाख एक हजार, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले रु ५० हजार ५००, सगुन बचत तथा ऋण सहकारी संस्थाले रु ३३ हजार ३३३, भगवती बचत तथा ऋण सहकारी संस्थाले रु २७ हजार ५००, माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार ५५५, एकता बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार १४९, समाजसेवा बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार १०५ र गरिमा बचत तथा ऋण सहकारी संस्थाले रु ३५ हजार १०५ सहयोग गरेका छन् ।
गाउँपालिकाले खडा गरेको उक्त कोषमा रु ४१ लाख ५९ हजार ९३५ सङ्कलन भएको छ । उक्त रकममध्ये रु ३० लाख गाउँपालिकाको रहेको सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो
सामुदायिक वनको सहयोग
देवघाट गाउँपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा मङ्गलबार तीन सामुदायिक वन र एक सहकारी संस्थाले सहयोग गरेका छन् । देवघाट गाउँपालिका–१ स्थित कालीगण्डकी सामुदायिक वन उपभोक्ता समूहले रु ३० हजार, गोपीटार सामुदायिक वन उपभोक्ता समूहले रु ३० हजार, सुनाझाँक्री सामुदायिक वन उपभोक्ता समूहले रु ३० हजार र देवघाट गाउँपालिका–५ स्थित देवघाट बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
म्याग्देमा सात लाख
यस्तै म्याग्दे गाउँपालिकाको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु सात लाख सङ्कलन भएको छ । गाउँपालिकाले खडा गरेको कोषमा गाउँपालिकास्तरीय राजनीतिक दल, आमा समूह, युवा क्लव, विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार उक्त कोषमा गाउँपालिकाले रु ५० लाख जम्मा गरेको छ ।
म्याग्दी भित्रने नाकामा स्यानिटाइजर टनेल
म्याग्दी–म्याग्दीमै पहिलो पटक जिल्ला भित्रिने नाका कालीपुलमा स्यानिटाइजर टनेल स्थापना भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ रोकथामको सम्भावित सङ्क्रमणबाट जोगिन व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने भएको हो । साबुन पानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिँदै आएकामा अब जिल्ला भित्रिनेहरुलाई टनेलमा स्यानिटाइज गराइने भएको छ ।
म्याग्दीको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइज हुने प्राविधिकले जनाएका छन् । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मकाउले मङ्गलबार स्यानिटाइजर टनेल स्थापना गरेका हुन् ।
बेनीको म्याग्दी ऊर्जा प्रविधि केन्द्र र खत्री इलेक्ट्रोनिक्सले स्यानिटाइजर टनेल निर्माण गर्न प्राविधिक सहयोग गरेका छन् । “यो टनेलको प्रयोगसँगै म्याग्दीमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइज हुनेछ”, लायन्सका अगुवा चन्द्रकुमार केसीले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि सामाजिक सङ्घ संस्थाको सहयोगमा स्यानिटाइजर टनेल स्थापना गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेशभन्दा बाहिरबाट आउने व्यक्तिलाई कालीपुलमा स्थापना गरिएको चेक पोष्टका सुरक्षाकर्मी र स्वयंसेवकले स्यानिटाइज गराउनेछन् ।
मानिस टनेलभित्र छिरेपछि त्यहाँ जडान गरिएको स्वचालित उपकरणले माथि, दाया र बायाँबाट भाइरस नष्ट गर्ने स्यानिटाइजरको फोहोरा आउँछ । मानिसले टनेलभित्रको भुइँमा जडान गरिएको सेन्सरमा टेकेपछि टर्वाइन चालु भएर ग्यालिनभित्र राखिएको स्यानिटाइजर फोहोराबाट फाल्छ । एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ ।
एउटा स्यानीटाइजर टनेल बनाउँदा रु. एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको खत्री इलेक्ट्रिकल्सका सञ्चालक कृष्ण खत्रीले बताउनुभयो । दुई दिनमा तयार पारिएको स्यानिटाइजर टनेल बुधबारदेखि औपचारिकरूपमा सञ्चालन गरिने भएको छ ।
यसैबीच नेपाल प्रगतिशील इञ्जिनियरीङ एसोसिएसन (पिन) म्याग्दीको प्राविधिक सहयोगमा बेनी अस्पतालमा पनि स्यानिटाइजर टनेल स्थापना गर्न लागिएको छ । बुधबारदेखि अस्पतालको स्यानिटाइजर टनेल पनि सञ्चालनमा आउने पिन म्याग्दीका संयोजक कृष्ण रिजालले जानकारी दिनुभयो ।
वैशाख १० पछि भित्रिएकाको विवरण सङ्कलन
पर्वत – विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण न्यूनीकरणका लागि पर्वतमा वैशाख १० गतेपछि भित्रिएका नागरिकहरुको विवरण सङ्कलन शुरु गरिएको छ । पछिल्लो एक साता नेपालका विभिन्न जिल्लाबाट पर्वतमा भित्रिनेहरुको सङ्ख्या ह्वात्तै बढेपछि स्थानीय तहहरुले विवरण सङ्कलन थालेका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई वैशाख १० गतेपछि गाउँगाउँमा भित्रिएका नागरिकहरुको विवरण अद्यावधिक गर्न आग्रह गरेपछि कुश्मा नगरपालिकाले पनि सबै वडालाई पत्राचार गरेको छ ।
नगरपालिकाले फारम निर्माण गरेर प्रत्येक वडा कार्यालयहरुमा आ–आफ्नो वडाभित्र वैशाख १० गतेपछि आएका नागरिकहरुको विवरण सङ्कलन गर्न आग्रह गरेको हो । व्यक्तिको नाम थर, उमेर, लिङ्ग, स्थायी ठेगाना, आएको मिति, छोडेको जिल्ला र मोर्बाल नम्बर उल्लेख गरिएको फारम बनाएर विवरण सङ्कलन शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले जानकारी दिनुभयो ।
जिल्लाभित्र सङ्क्रमणको जोखिम नभएका बेला बाहिरी जिल्लाहरुबाट भित्रिने क्रम बढेपछि यस्तो अभियान थालिएको उहाँले बताउनुभयो । सङ्कलित विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाइने नगरपालिकाले जनाएको छ ।
बन्दाबन्दीका कारण अन्तरजिल्ला, अन्तरपालिका आवतजावतमा कडाइ गरिएको छ । यस्तो अवस्थामा पनि पर्वतमा विभिन्न जिल्लाबाट भित्रिने क्रम रोकिएको छैन । अन्य जिल्लावाट पर्वतमा भित्रिएका मध्ये २३ जना विभिन्न पालिकामा रहेका क्वारेन्टाइनमा र दुई जना आइसोलेसनमा रहेका छन् ।
जिल्लाको जलजलामा छ, पैंयुमा छ, फलेवासमा दुई, महाशीलामा नौ जना क्वारेन्टाइमा रहेका छन् । ती मध्ये छ जना तराई क्षेत्रबाट आएका हुन् भने अन्य विभिन्न जिल्लाबाट आएका हुन् ।
त्यस्तै भारतवाट आएकाको सम्पर्कमा रहेका फलेवास नगरपालिका–३ का एक दम्पती पर्वतको अस्थायी कोरोना अस्पतालमा आइसोलेसनमा रहेका छन् । ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि उनीहरुलाई आइसोलेुनमा राखिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिनुभयो । दम्पतीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाइएको र आज साँझसम्म रिपोर्ट आउने डा. देवकोटाले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तराई क्षेत्रबाट भित्रिएकाहरुलाई क्वारेन्टाइनमा र अन्य जिल्लाबाट भित्रिएकालाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार सोहीअनुसार स्थानीय तहहरुले व्यवस्थापन गरेका छन् ।
पर्वत अस्पतालका विशेषज्ञ चिकित्सक विष्णु भण्डारीले पनि अब होम क्वारेन्टाइनमा बस्ने बाहेक अन्य विकल्प नभएको बताउनुभयो । गाउँमा आएकालाई २१ दिनसम्म घरमा नै बस्नका लागि प्रेरित गर्ने, स्वास्थ्य संस्थामा नजाने, वरपर घुम्न नदिने र घरमै सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने डा भण्डारीको सुझाव छ । गाउँमा स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने जोखिम बढेका कारण सानातिना समस्यामा स्वास्थ्य संस्था नजान उहाँको आग्रह छ ।रासस