वैदिक सनातन हिन्दु संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानीकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ । भारतवर्षका आधूनिक धर्म संस्थापक शंकराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरु अहिले पनि धर्मशास्त्रहरुमा कालजयी वचन बनेर रहेकाछन् । उनले अद्यात्मदर्शनलाई उजागर गरेका थिए । उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शंकाराचार्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शंकराचार्यले नेपाल सहित सम्पुर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरु छन् ।
धार्मिक मान्यता अनुसार शंकाराचार्यलाई अदीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार शंकराचार्यका पिता शिवगुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरुका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पुरा गर्न श्रद्धापुर्वक भगवान शिवको तपस्यामा लीन भए । उक्त तपस्याका प्रभावले भोले शंकरले शिवगुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग्न भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे; तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।
शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिंदै उक्त पुत्रका रुपमा स्वयं आफ्नो जन्म हुने बताईदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रुपमा शंकरलाई जन्म दिइन् । त्यहि शिवको अवतारका रुपमा जन्मिएका कारण उनलाई शंकराचार्य भनिएको थियो । शंकराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरू शंकराचार्यका नामबाट प्रसिद्ध भए ।
प्रत्येक बर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दु दार्शनिक एवं धर्मगुरु शंकाराचार्यको जन्म जयन्ती मनाइन्छ । शंकराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यू ९२० मा भएको थियो । शंकराचार्य जयन्तीका अवसरमा मठहरुमा पूजाआजा गरिन्छ । वैदिक विद्वानहरुले वेद पदहरु वाचन गर्दछन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरु आयोजना गरिन्छन् ।
भारत केरलाको कलाडीमा जन्म भएका शंकराचार्य केवल ३२ वर्ष सम्म मात्र बाँचेको पाइन्छ, यसै बिचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शकंराचार्यबाट भएको पाइन्छ । शंकराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसंग दिक्षा लिएको पाइन्छ । नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दु हासिल गरेको बताइन्छ । भारतवर्षका ४ कुनामा ४ वटा मठहरु स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शंकराचार्यले गरेको संरचना अझै कायम छ ।
भारतवर्षको लम्वाई र चौडाई हुनेगरि शंकराचार्यले सबैजसो भू-भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरुलाई पनि सनातन धर्ममा पुनः ल्याउने पावन कार्य शंकराचार्यले नै गरेको इतिहास छ । शंकराचार्य एउटा असल कवी पनि हुन्, सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कवीताहरु शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शंकराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शंकराचार्य अमर रहुन् ।
रामानुजाचार्य जयन्ती
विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शंकराचार्य झैं रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन्, यद्धपी रामानुजाचार्यका दर्शनहरु विष्णु केन्द्रित पाइन्छन्, भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् । रामानुजाचार्यका गुरु यादव प्रकाश चाँही अदविता बेदान्तका अनुयायी थिए, स्मरण गरौं यस अदविता बेदान्तचाँही आदिगुरु शंकराचार्यले शुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरु संग मतभेद भएपछि तामील अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनी र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।
रामानुजाचार्यको ज्ञानको रिसले अन्य पूजारी र पण्डितहरुले धेरै पटक मार्ने प्रयत्न पनि गरे, कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुाियो तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिएर आए, यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।
रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्धान पनि हुन्, यिनले वास्य, ब्रह्म सुत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे र अन्तरमानवाट विष्णु अर्थात श्री हरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्म भएका रामानुजाचार्यका योगदानहरु सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ ।