अहिलेको विषम परिस्थितिमा निर्वाधरूपमा यार्सागुम्बा सङ्कलन गर्न दिनु घातक हुनसक्ने भन्दै हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन रोकिएको छ । विश्भर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्व सतर्कता अपनाउनका लागि सङ्कलनमा रोक लगाइएको हो ।
मङ्गलबार सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
देश लकडाउनमा रहेको अवस्थामा हजारौँ मान्छे भित्र्याएर फुकुवा गर्न नसकिने बताउँदै समयमै जिल्लाका मुख्य नाका बन्द गरिने समेत प्रजिअ सुनारले बताउनुभयो । अवस्था खुकुलो हुँदै गएमा पछि त्यहीअनुसार निर्णय हुने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले आगामी २० गतेभित्र पुनः एक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताउनुभयो । डोल्पाली जनता वर्षौँदेखि यार्सागुम्बामै निर्भर भएकाले एकपटक सोच्नैपर्छ प्रमुख बुढाले भन्नुभयो ।
यसबारे शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले आधिकारिक धारणा भने सार्वजानिक गरेको छैन । समितिको बैठकमा उपस्थित स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिमध्ये केहीले यार्सा सङ्कलन रोक्नुपर्ने र केहीले रोक्न नहुने धारण राखेका थिए । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ ।
नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वरभूमिको रुपमा चिनिने डोल्पामा विगत २० वर्षदेखि व्यावसायिकरूपमा यार्सागुम्बा सङ्कलन हुँदै आएको छ । अघिल्लो वर्षमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट दशौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि डोल्पा आउने गर्थे । यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णयसँगै अवैध चोरी निकासी बढ्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायको भनाइ छ ।
सबैको रिपोर्ट नेगेटिभ
डोल्पाको जगदुल्ला गाउँपालिकामा परीक्षण गरिएका आठसहित गाउँमै रहेका एक जनाको ¥यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको टोेली मङ्गलबार गाउँपालिकामै पुगेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
भारतलगायतका अन्य मुलुकबाट भित्रिएका नागरिकको आरडिटी परिक्षण गर्नु पहिलो प्राथमिकतामा रहेको भन्दै जिल्ला अस्पताल डोल्पाले सोमबार डा मच्छिन्द्र बडुवालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको थियो ।
टोलीले जगदुल्लामा परीक्षण सम्पन्न गरिसकेकाले मुड्केचुला गाउँपालिकातर्फ हिँडेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो ।