राधा पाैडेल- कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाले नगरभित्रका तरकारी फर्महरुको अनुगमन गरेको छ । किसानले उत्पादन गरेको तरकारीले नगरभित्रको माग धान्छ या धान्दैन, उत्पादन कस्तो छ, उत्पादन भएको तरकारी विक्री भएको छ या छैन भनेर विशेष टोलीले तरकारी फर्महरुको अनुगमन गरेको हो ।
नगरपालिका भित्र व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएका मोर्मी, राजपुर, मधुवन लगायतका स्थानका ७ ओटा तरकारी फर्मको अनुगमन गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । ७ वटा फर्मको अनुगमन गर्दा सिजन अनुसार फल्ने करेला, घिरौला, लौका, टमाटर, बन्दा गोभि, काँक्रा लगायतका तरकारीको बिक्री फर्मबाटै भएको कृषकहरुले बताएको पौडेलको भनाई छ ।
तरकारीको विक्री राम्रै भएको र वाणगंगा क्षेत्र भित्रलाई लकडाउन अवधिभर पर्याप्त तरकारी पुग्ने भेटिएको नगर प्रवक्ता पौडेलले बताउनुभयो । नगरभित्र उत्पादन भएका तरकारी बाहिर लगेर बेच्ने स्थिती नभएकाले नगरबासीलाई आफ्नै नगरभित्र उत्पादन भएको तरकारी खान सरोकारवालाले आग्रह गरेका छन् ।
सोमबार नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, कृषि शाखा प्रमुख लेश बहादुर केसी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतको टोलीले नगरभित्रका तरकारी फर्मको अनुगमन गरेको थियो ।