कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ इञ्जिनियरिङ कलेजमा राखिएका २९ जना भारतीय मजदूर महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा काम थालेका छन् ।
‘लकडाउन’का बेला भारत जान डडेल्धुराबाट महेन्द्रनगर आइपुगेका २६ र बुटवलबाट आएका तीन जना भारतीय मजदूरलाई सशस्त्र प्रहरी बलको निगरानीमा सो कलेजमा राखिएको थियो । “सबै भारतीय मजदूरको कोराना भाइरस सङ्क्रमणको रिपोर्ट नेगेटिभ आइसकेपछि उहाँहरुको चाहनाअनुसार पुल निर्माणको काममा खटाइएको हो”, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले भन्नुभयो, “मजदूरले नै काममा जान तयार रहेको बताएपछि स्थानीय प्रशासनले त्यहाँ खटाउने निर्णय गरेको हो ।”
डडेल्धुराको अस्पतालमा निर्माणाधीन भवनमा काम गर्दै आएका भारतको उत्तरप्रदेशस्थित रामपुरका मजदूर १६ दिन कलेजमा बसेका थिए । “डडेल्धुरामा पनि कामदारकैरुपमा कार्यरत रहेछन्, यहाँ पनि कामदारको आवश्यकता भएकाले पुलमा पठाइयो”, सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “पुल निर्माणसित असम्बन्धित अन्य तीन जना भारतीयलाई पनि पुल योजनाले अरु काम लगाउने गरी राखेको छ ।”
उहाँले कञ्चनपुरमा छरिएर रहेका ४३ इँटाभट्टामा करिब १० हजारको सङ्ख्यामा मजदूर होम क्वारेन्टाइनमा रहेका जानकारी दिनुभयो । “विस्तृत छुट्याउँदै छौँ, करिब आधाजति भारतीय मजदूर होला भन्ने आँकलन छ”, उपाध्यायले भन्नुभयो, “यहाँका क्वारेन्टाइनमा भारतीय नागरिक छैनन् ।” त्यसैगरी यहाँका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नेपाली नागरिकको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित जिल्लाका स्थानीय तहको जिम्मा दिएर घर पठाउने काम भइरहेको छ I
महाकाली पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर किशोरराज पाण्डेयले प्रशासनबाट प्रक्रिया पु¥याएर काममा आएका भारतीय मजदूरले आज बिहानदेखि काम शुरु गरिसकेका बताउनुभयो ।
“लकडाउनले काम रोकिँदा पुल निर्माण बीचमा रोकिने निकै जोखिम थियो”, उहाँले भन्नुभयो, “मजदूर पाएर काम थाल्दा धेरै सहजता भयो ।” उहाँले सामाजिक दूरी र आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाएर भारतीय मजदूरलाई काममा लगाइएको जानकारी दिनुभयो ।
“स्लयाप ढलान, डण्डी बाध्ने, फर्मा लगाउनेलगायतका निर्माण जुटिसकेका छन्”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “सबै गरेर अहिले ५२ मजदूर निर्माणमा खटिसकेका छन् ।” उहाँले मजदूरलाई ज्यालाका साथै अन्य सबैखाले सुविधा दिइने बताउनुभयो ।
निर्माण कम्पनीले लकडाउनका बेला योजनालाई अघि बढाउन आवश्यकपर्ने अन्य सहुलियत दिनुपर्ने माग राखेको छ । रु तीन अर्ब २७ करोड लागत रहेको पुलको निर्माण आगामी २०७८ जेठभित्र सक्नुपर्ने समय तोकिएको छ । भारतीय मजदूर परितोस विश्वासले क्वारेन्टाइन बस्दासम्म स्थानीय प्रशासन तथा अन्य निकायले गरेको सहानुभूतिप्रति आभार व्यक्त गर्नुभयो ।रासस