कोरोना भाइरस (कोभिड १९) का कारण इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ।
पहिलो पटक सारिएको मितिअनुसार ३ गते बुधबारदेखि सुरु हुने तय थियो। तर भारतमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण र थपिएको लकडाउनका कारण प्रतियोगिता हुन सकेन। नयाँ मितिका लागि छलफल भएको भए पनि कोरोनाको जोखिम यकिन नहुँदा प्रतियोगिताको मितिमा दुविधा रहेको हो।
अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको बारे बिसिसिआईले आइपिएल सम्बद्ध सबैलाई जानकारी गराइसकेको छ।
पहिले चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता १८ दिन पछि सार्दै बैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको थियो। आधिकारिक रुपमा केही नबताइए पनि छिटो नै प्रतियोगिता हुन सम्भव छैन। भारतभर अहिले मे ३ सम्मका लागि लकडाउनको मिति समेत बढिसकेको छ।
बिसिसिआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, आइपिएल प्रमुख ब्रिजेश पटेल, बिसिसिआई कोषाध्यक्ष अरुण धुमाल र आइपिएलका प्रमुख कार्यकारी हेमाङ अमिनसहित मंगलबार अबेर भिडियोमार्फत कुराकानी भएको थियो।
यसअघि पनि बन्द स्टेडियममा खेल गर्ने कि प्रतियोगिता सार्ने भन्ने विषयमा भएको छलफलपछि मिति सार्ने निर्णय भएको थियो। कोरोनाले महामारीको रुप लिनुअघि भारत सरकारले खेल स्थगित नगर्ने तर मानिसहरु धेरै जम्मा हुने काम नगर्न भनेपछि बन्द स्टेडियममा खेल गर्ने गरी सम्बन्धितहरु लागिपरेका थिए।
अहिले भने बढ्दै गएको जोखिमका कारण प्रतियोगिता अनिश्चित बनेको हो।