बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् ।
बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए ।
बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी (रामतोरियाँ), बोडी, टमाटर (गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ ।
बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पु¥याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ ।
बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।
झिमरुक– प्युठान नगरपालिका वडा नं ८ खप्रेङखोलाकी विपना भण्डारीले चार वर्षदेखि तरकारी खेती गर्दै आएकी छन् । उनले चार रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएकी छन् । उनले तरकारी बारीमा अहिले बन्दागोभी, काँक्रा, सिमी, लौका, घिरौँला, फर्सीलगायत तरकारी उत्पादन भएका छन् । उत्पादित सब्जी बेचिन ठीक परेका छन् तर उनले लकडाउनका कारण बेच्न पाउनुभएको छैन ।
आफूले उब्जाएको तरकारी दैनिक प्युठान ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा पु¥याएर बिक्री गर्ने गरेको भए पनि लकडाउनका कारण संकलन केन्द्रसँंगै बजार सबै बन्द भएपछि बेच्न नपाइएको उनी बताउँछिन् ।
मुख्य पेशाकै रुपमा तरकारी खेती गर्दै आउनुभएका भण्डारीलाई यस समयमा तरकारी बेच्न नपाएकामा पिरलो छ । उनी भन्थिन्, ‘जग्गा भाडा लिएर तरकारी खेती गरेको हुँ तर उब्जाउ भएको तरकारीले बजार नपाएपछि खेतमै सड्न थालेको छ ।’
वार्षिक रु ३० हजार जग्गाको भाडा तिरेर तरकारी खेती गर्नुभएका उनी बिउ, विषादी र मलको लागतसमेत तरकारी बेचेर कमाउन नसकेको बताउँछिन् ।
बिक्रीका लागि तयार भएको करीब १० क्विन्टल तरकारी खेतबारीमै कुहिन थालेको स्थानीयवासी किसान माधवा गिरी बताउँछिन्। ‘आर्थिक आम्दानीको स्रोत भनेकै यही तरकारी खेती हो’, उनले भनिन्, ‘बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ ।’ आफ्नो मेहनतभन्दा पनि ऋणधन गरेर बीउ खरीद गर्दाको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने उनले बताइन्।
तरकारी व्यवसायी रेखा सार्कीले पनि जग्गा भाडा लिएर तरकारी खेती गरेको बताउँदै लकडाउनका कारण उब्जाउ भएको सबै तरकारी सड्न थालेकामा चिन्ता व्यक्त गरिन् ।
प्युठान ८ खप्रङ्खोला, गेजवाङ र सूर्यनगरका करीब ६० घरपरिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यसरी लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्नसमेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ ।
प्युठान ८ का वडाध्यक्ष लिलापसिंह केसीले किसानले उत्पादन गरेको तरकारी बजार व्यवस्थापनका लागि पहल गरिएको बताए । “किसानलाई निराश हुन दिन्नौँ, कुनै माध्यमबाट उहाँहरुको लगानीसम्म भए पनि उपलब्ध गराउँछौँ,” उनले आश्वासन दिए ।
रासस