नोभेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेसँगै कुवेतमा पनि हालसम्म ११ जना नेपाली सहित १२३४ जना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ।
संक्रमितको संख्यामा दिनानुदिन वृद्धि तथा नेपालीहरुमा संक्रमणको संभावित जोखिमलाई ध्यानमा राखी आगामी दिनमा यो रोग फैलिन नदिन र यसको प्रभाव न्यूनीकरणका लागि हामी सबैले थप सजगता र सावधानी अपनाउन जरुरी देखिएको छ । यस घडिमा नेपाली राजदूतावास कुवेतले नेपाली नागरिक सहित यो रोगबाट संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस बिरुद्द लड्न आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड, नेपाल तथा कुवेत सरकारका सम्बन्धित निकायहरूले स्वास्थ्य, सरसफाई लगायत सावधानी र सतर्कताका लागि जारी गरेका यस सम्बन्धी आधिकारिक सूचना, निर्देशनको सम्मान र पालना गर्दै सामाजिक दूरी कायम गर्ने, घरबाट अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा Hand sanitizers ले नियमित रूपमा हात सफा गर्ने, खोक्दा वा हाच्छ्यू गर्दा रूमालले मुख छोप्ने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर खाने, सागपात, फलफूत राम्रोसँग धोएर मात्र खाने, जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्ने तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, जस्ता उपायहरू अवलम्बन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नेपाली राजदूतावास, कुवेत पुनः अनुरोध गरेको छ।
यस अतिरिक्त कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन खानपान तथा सरसफाइमा बिचार पुर्याउन ,धुम्रपान तथा मध्यपान नगर्न तथा आधारहिन हल्लाको पछि नलाग्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ । लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्ने, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्यहरूलाई समय दिएमा एकान्तवास बाट उत्पन्न हुनसक्ने नैराश्यता, अल्छिपन, तनाव र चिन्ताबाट मुक्ति मिल्नुका साथै समय बिताउन सजिलो हुने भएकोले यसतर्फ ध्यान पुर्याउन समेत सबैमा अनुरोध गरेको छ।
त्यसैले, कोरोना भाइरसको महामारीबाट आफू बच्न र अरुलाई बचाउन हामी सबै एकतावद्ध भर्इ, मित्रवत तथा सहयोगपूर्ण व्यवहारलार्इ निरन्तरता दिन, सावधानीका उपायहरुलाई अनुशासित रुपमा अवलम्बन गर्न, थप सतर्कता र सजगता अपनाउन एवं उच्च मनोवलका साथ आफू जहाँ हुनुहुन्छ त्यही ठाउँमा सुरक्षित रहन नेपाली राजदूतावास कुवेतले त्यहाँ रहेका सबैमा जानकारी गराएको छ।नेपाली राजदूतावास कुवेत सदैव नेपालीहरुको साथमा रहेको कसैलाई चिन्ता नलिन बताएको छ।
दुताबासले सुचना जारी गर्दै अत्यावश्यक अवस्थामा टेलिफोन नम्बरः (००९६५) २५३२१६०३, २५३२१६०४, २५३२१६०५ र हटलाइन नम्बरः ९८८६९१२१ साथै [email protected] मा इमेल गरि आफ्ना जिज्ञासा र समस्याहरूलाई बताउन सक्ने जनाएको छ।