शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पिपिई सेट हस्तान्तरण गर्नुभएको छ । नेपाल सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानी मन्त्री बीना मगरलाई आज राज्यमन्त्री मानन्धरले २०० थान पिपिई सेट हस्तान्तरण गर्नुभएको हो ।
नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपिई सेट हस्तान्तरण गरिएको हो । पिपिई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो, “विपद्का समयमा सरकार जनताका साथमा छ र सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नु आवश्यक छ ।”
मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।
रापशुपतिमा रहेको क्वारेन्टाइनको अवलोकन
कोभिड– १९ का शङ्कास्पद व्यक्तिलाई राख्न बनाइएको क्वारेन्टाइन स्थलको अवस्थाबारे सरकारले अनुगमन थालेको छ । स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेका बारे सरकारले स्थलगत अनुगमन तथा सहजीकरण आजदेखि शुरु गरेको हो । पशुपतिको धर्मशालामा निर्मित क्वारेन्टाइनको शहरी विकास राज्यमन्त्री मानन्धरले अनुगमन गर्नुभएको हो ।
विदेशबाट आएका व्यक्ति तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोना रोगबाट सङ्क्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार’ मापदण्ड पूरा भए नभएकोबारे जानकारी लिन स्थलगत अनुगमन शुरु गरिएको राज्यमन्त्री मानन्धरले जानकारी दिनुभयो ।
पशुपतिको धर्मशालामा क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले बताउनुभयो । क्वारेन्टाइनमा ३५ श्यया तयारी अवस्थामा रहेको र थप ३५ श्यया निर्माणको तयारी अन्तिम चरणमा रहेको छ । मन्त्रिपरिषद्को गत चैत १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।
पशुपतिको धर्मशालामा रहेको क्वारेन्टाइनमा एक पटकमा ७० जनाको व्यवस्थापन गर्न सकिने गरी तयारी भएको र सरकारले आवश्यक सबै सहजीकरण गरिरहेको छ । आइतबार भने ललितपुरको स्टाफ कलेज र अन्य केही स्थानको क्वारेन्टाइनको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिनेछ । आइतबार नै उपत्यकामा तयारी अवस्थामा रहेका र निर्माण गर्न सकिने स्थानको अवलोकनपश्चात् प्रतिवेदन तयार पारी आवश्यक थप व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने तयारी छ ।
शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले उपत्यकाका क्वारेन्टाइनको वास्तविक अवस्था र मापदण्डअनुसार निर्माण भए÷नभएकाबारे अनुगमन शुरु भएको जानकारी दिनुभयो । क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनले तोकेबमोजिम तथा नेपाल सरकारले तय गरेको मापदण्डअनुसारकै रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । अनुगमनका लागि शुक्रबार सहरी विकास राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, १८ वटै नगरप्रमुख तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको थियो । रासस