नरेश केसी लुम्बिनी
भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सीमा पारि रोकिएका नेपाली तथा नेपालमा नाता सम्बन्ध भएका भारतीय लुकीछिपी नेपाल प्रवेश गर्न थालेपछि नेपाली सुरक्षाकर्मीले सीमामा पैदल गस्ती बढाएका छन् । भारतसंँग सीमा जोडिएको ६० किमीसम्मको सीमा क्षेत्रमा यतिबेला रुपन्देहीका सुरक्षाकर्मीले गस्ती बढाएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताउनुभयो ।
प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, ‘यतिबेला हामीले साठी किलोमिटरको सीमा क्षेत्रमा हिँडेरै गस्ती सम्पन्न गरेका छौंँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पैदल गस्ती गरेको हो । ’ कपिलवस्तुदेखि नवलपरासीको सीमासम्म ६० किलोमिटरको क्षेत्र रुपन्देही जिल्लामा पर्छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुख तथा अधिकृतसमेत पैदल गस्तीमा सहभागी भएका थिए ।
कोरोना भाइरसको संक्रमण सीमावर्ती भारतीय क्षेत्रमा बढेसंँगै भारतीय पनि नेपालमा विभिन्न नाता खोज्दै नेपाल प्रवेश गर्ने खतरा बढेको छ । अर्कातिर तरकारीजन्य पदार्थ बिक्रीवितरणका लागि पनि उनीहरु आउने गरेका छन् ।
यसैबीच दुई दिन अगाडि मात्रै भारतको कोल्हुइका चार जनालाई रुपन्देहीको तिलोत्तमामा पक्राउ गरी क्वारेन्टाइन पठाइएको छ । उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए । भारतमा कोरोना फैलिँदै गएपछि भारतीय सुरक्षाकर्मीको आँखा छल्दै नेपाल प्रवेश गर्न थालेका छन् ।
यतिबेला नेपालतर्फ सशस्त्र प्रहरीले सीमाका विभिन्न नाकामा थप सुरक्षा तैनाथीसमेत गरेको छ । सशस्त्र प्रहरीबलका प्रहरी उपरीक्षक पोखरेलका अनुसार यतिबेला सीमामा सशस्त्रका ८ सय फौज खटिएको छ । विगतमा पाँच बिओपी राखिएकामा यतिबेला कोरोना संक्रमणलाई लक्ष्य गरी अस्थायी रुपमा १० चौकी थपिएको छ ।
प्रउ पोखरेलले भन्नुभयो, ‘५२ नाकामा ड्युटी खटिएको छ । पाँच वटा मोबाइल गस्तीले त्यसको कभर गरेको छ । सीमाबाट कोही पनि मान्छे कुनै पनि बहानामा नेपाल प्रवेश गर्न दिइएको छैन । ’
सधैंँ सवारी साधनमा गस्ती गर्ने सुरक्षा क्षेत्रका अधिकारीले यतिबेला पैदल नै सीमामा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । उहांँले भन्नुभयो, ‘सशस्त्रका एसपी, नेपाल प्रहरीका एसपी र म आफैँ स्वयं पनि यो गस्तीमा सहभागी थियौँ । यसले एकातिर सबै सीमाको स्थलगत अवस्था बुझ्ने मौका दिएको छ भने अर्कातिर नाकानाकामा खटिएका सुरक्षाकर्र्मी साथीहरुको मनोबल बढाउन पनि मद्दत गरेको छ । ’
कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ देखि मुलुकभर लकडाउन गरेको छ । लकडाउनको नागरिकले पालना पनि गरिरहेका छन् । सुरक्षाकर्मीसँगको पैदल गस्तीको अन्तिम दिन प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय पनि सहभागी हुनुभएको थियो ।रासस