शेरबहादुर सिंह
डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आउनुभएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभयो ।
डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उहाँ सहित २६ जनाको मजदूरको टोली कोभिड–१९को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो ।
स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदूर सहित २९ जनालाई यहाँको बैजनाथ इन्जिनीयरिङ कलेजमा राखिएको छ ।
“राति यहाँ पुग्दा मनमा धेरै कुरा खेलिरहेको थियो ।” सशस्त्र प्रहरीको सुरक्षा घेरामा बसिरहेका भारतीय नागरिक विश्वासले भन्नुभयो, “यहाँ सबै सुविधा दिएर राखिएकामा हामी हर्षित छौँ ।”
उहाँले बिहान, बेलुकी सधँै समयमै खाना मिल्ने गरेको जानकारी दिनुभयो । “हामीलाई बसोबास र खानपिनको कुनै समस्या छैन ।” उहाँले भन्नुभयो, “भारतमा लकडाउन खुलेपछि यहाँबाट जान पाए हुन्थ्यो भन्ने छ ।” विश्वासले आफू भारतमा रहेका परिवारसित नियमित सम्पर्क भइरहेको जानकारी दिनुभयो ।
“डडेल्धुरामा पनि बस्नलाई केही समस्या थिएन ।” उहाँले भन्नुभयो, “साग तरकारीका लागि हिँडेर गाउँ पस्ने अवस्था नदेखिएपछि घर जान हिँडेका थियौँ ।”
त्यसैगरी बुटवलबाट घर जान हिँडेका भारतीय मजदूर जस्मन्तकुमार पनि यही क्याम्पमा १० दिनदेखि आश्रय लिइरहेका छन् ।