भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भीड लाग्ने गरेको छ ।
नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ः०० देखि ८ः०० र साँझ ५ः०० देखि ७ः०० बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यबस्थापन गरेको छ ।
भाइरस सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको र नगरपालिकाले एक मिटरको दुरी कायम गर्नेगरि चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
नगरपालिकाले यस्तो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले भने त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कमलविनायकका बासिन्दा विकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले दर्शन गर्ने घण्टा बजाउने गरेको बताउदै सङ्क्रमित व्यक्तिले घण्टा बजाए धेरैमा सङ्क्रमण फैलिने बताउनुभयो ।
कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको उहाँले जानकारी दिनुभयो । भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ्ग गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ ।रासस