गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको पहलमा १७ करोड रुपैयाँ लागतमा बेसक्याम्पस्थित महाज्ञान बौद्ध बिहार परिसरको १० कट्ठा क्षेत्रफलमा गुरुङ भवन बन्न लागेको हो
गुरुङ भवनमा गुरुङ संग्रहालय, एक हजार जना अट्ने सुविधासम्पन्न सभा हल र दुई सयजना अट्ने बैठक हल, कार्यालय प्रयोजनका लागि ५ वटा र अतिथि आवासका लागि ५ वटा कोठा बन्ने निर्माण समितिकी संयोजक एवम् तमु ह्युल छोंज धीं रुपन्देहीकी अध्यक्ष विमला गुरुङले बताइन् ।
मुख्य भवनमुनि दुई सय मोटरसाइकल र सयवटा चार पांङग्रे गाडी पार्किङ गर्न मिल्ने गरी अण्डरग्राउण्ड पार्किङस्थल बनाइने छ । परिसरमा बगैंचा, पानीको फोहरा, गुम्बा, मन्दिर, किरियापुत्री घर, एक हजार जनाले खाना खान मिल्ने खुला हल, भान्सा घर, बनाइने छ ।
भवन निर्माणका लागि गुरुङ समुदायका हरेक परिवारबाट एक घरबाट एक हजारका दरले चन्दा संकलन गरिने तमु ह्युल छोंज धीं रुपन्देहीका सचिव ओमप्रकाश गुरुङले बताए । ‘पश्चिमा संस्कृतिको नक्कल गर्ने परिपाटीले गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परा हराउंदै जान सक्छ भनेर संग्रहालय बनाउन थालेका हौं,’ सचिव गुरुङले भने, ‘संग्रहालयले भावी पुस्तासम्म संरक्षण गर्नेछ ।’
संग्रहालय बनाउन विदेशका ११ वटा देशमा रहेका गुरुङ समुदाय र संघसंस्थासमेतबाट आर्थिक सहयोग संकलन गरिने छ । ‘गुरुङ सुमदायका कला संस्कृति संरक्षणका लागि संग्रहालयसहित बन्ने गुरुङ भवन नेपालकै गहना र गौरवको रुपमा लिएका छौं,’ सचिव गुरुङले भने, ‘गुरुङ कला र संस्कृति गुरुङहरुको मात्र नभइ देशकै पहिचान र सम्पदा भएकाले संग्रहालय सहित गुरुङ भवन बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबाट पनि आर्थिक सहयोग हुने अपेक्षा राखेका छौं ।’
हालसम्म करिब ६० लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता आइसकेको अध्यक्ष विमलाले बताइन् । गुरुङ भवनको शिलान्यास तमु ल्होसारको अवसरमा सोमबार (आज) आयोजित मूल समारोहमा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले गर्ने कार्यक्रम तय भएको छ ।
धरोहर कन्सल्ट्यान्ट देवदह खैरेनीले डिजाइन गरेको गुरुङ भवनको निर्माण पाँच वर्षमा पूरा गर्ने लक्ष्य रहेको छ ।अन्लाईन खबरबाट