विवेक पुलामी मगर
नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आगामी १७ जनवरी २०२० का दिन मगर संघ कतारका सचिव लोक बहादुर सिन्जाली मगरको संयोजकत्वमा अम्बज क्याम्प- २ मिसाइदमा मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड माघ्या सकराटी (सार ल्हेस) २०२० लाई “नेपाली कला तथा संस्कृती लाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी २०७६ लाई भब्यताका साथ सफल पारौं ।” भन्ने नाराका साथमा “माघ्या सकराटी (सार ल्हेस) —२०७६ को सु अवसरमा बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम २०२०” आयोजना गरी बृहत जनमानसको सहभागितामा सम्पन्न गरिने भएको छ ।
उक्त कार्यक्रममा नेपालवाट अतिथि कलाकारहरु चर्चित लोकदोहोरी गायिका निर्मला थापा मगर र मोडल तथा डान्सर अस्मिता राना मगरको कतारमा प्रथम पटक उपस्थिति भई उहाँहरुको बिशेष आकर्षक प्रस्तुति रहने छ भने नेपाल मगर सांस्कृतिक परिवार, कतारका कलाकारहरु बाट पनि प्रस्तुतीहरु सालैजो, कौराह, सोरठी ,झ्याउरे, हुर्रा, भुम्या, टप्पा, मगर गित, मारुनी लगायत अन्य विविध नेपाली तथा मगर सस्कृति झल्काउने किसिमका सांस्कृतिक प्रस्तुतीहरु रहने यसले गर्दा नेपालको कला संस्कृतीले नेपालमा मनाउन लागेको पर्यटन वर्ष २०२० (Visit Nepal 2020) सहयोग पुराउन मद्दत गर्ने जानकारी कार्यक्रम संयोजक लोक बहादुर सिन्जाली मगरले जानाकारी दिए ।
खेलकुद कार्यक्रम तर्फ बनभोजमा उपस्थित हुने जनमानसको मनोरञ्जनका लागि महिलाको लागि म्यूजिकल चेयर र पुरुषका लागिमा डोरि तान्ने प्रतियोगिता रहेको छ भने बिगतका बर्षहरुमा झैं यस बर्ष पनि नेपालमा मगरहरुको दौडेर राजा चुन्ने परम्परा पनि कायम रहि आएकोले मगरहरुको लागि २०२०/२०२१ का निमित्त सांस्कृतिक बाङ (राजा) पनि दौड प्रतियोगिता गरेर छनौट गरिनेछ ।
कार्यक्रममा जान आउनका लागि दोहा, सनैया, अलखोर, सैलिया, सहानियाँ, अबुहमर, बक्रा, उमसाईड बाट यातायातको साथमा खाना नास्ताको ब्यवस्था गरिएको छ।
बिगतका बर्षहरुझै कतारमा रहेको सम्पुर्ण मगर तथा गैरमगर नेपालीहरु लाई कार्यक्रममा उपस्थित रहेर माघ्या सकराटी कार्यक्रमलाई पहिलेका बर्षझै यस वर्ष पनि सब्य र भब्य रुपमा सफल पार्नका लागि आदरणिय कतारबासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दै आयोजक समितिद्वारा आह्वान गरिएको छ ।